पु.समाचार

नेकपा सचिवालय बैठक सकियो, नेपाल पक्षको असन्तुष्टि सम्बोधन भएन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण, वरिष्ठ नेता माधवकुमार नेपालको चीन तथा घानाको भ्रमण र प्रवक्ता श्रेष्ठको नेतृत्वमा भएको चीन भ्रमणबारे अवगत गराइएको थियो ।

प्रधानमन्त्री ओली विदेश जानुअघि पार्टीको सचिवालयले पार्टी एकतापछिको प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनका विषयमा वरिष्ठ नेता नेपालले सार्वजनिक असन्तुष्टि व्यक्त गरेको लगायत आन्तरिक समीक्षाका लागि भने यही असोज २४ गते बिहान बस्ने सचिवालयको अर्को बैठकमा छलफल हुने बताइएको छ ।

सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।