सुदूरपश्चिम

खुला सीमाका कारण औलोको उच्च जोखिम

कञ्चनपुर । खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।

तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीयसमेत रहेका छन् ।

आव २०७४/७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए।
भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए ।

उहाँका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ ।

सीमा नाका गडडचौकीमा सतर्कता

भारतको बरेलीमा फैलिएको औलोेको महामारी रोकथामका लागि पश्चिमी सीमा नाका गडड्चौकीमा सतर्कता अपनाइएको छ । मलेरियाका शंकास्पद रोगीमाथि निगरानी राख्न थालिएको छ । सीमा नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्यकर्मीको छ टोलीलाई खटाइ शंकास्पद ज्वरोका रोगीमाथि निगरानी राख्न थालिएको हो ।

किटको माध्यमले रोगीको रगत चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । मलेरियाका बिरामी फेला परे डेस्कबाटै रगत जाँचपश्चात औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ । नजिकिँदै गरेका चाडपर्वका लागि भारतबाट फर्कने यात्रुको चाप सीमा नाकामा अधिक रहेको छ ।

भारतको बरेलीमा प्लाज्मोडियम फाल्सिफाराम मलेरियाको संक्रमणमा परेका ५८ जना बढीको मृत्यु भइसकेको छ । भारतको बरेलीमा औलोको महामारी फैलिएपछि कञ्चनपुरसँगै कैलालीको त्रिनगर भन्सार नाका र खक्रौला नामा हेल्थडेस्क स्थापना गरी शंकास्पद बिरामीमाथि निगरानी राख्न थालिएको छ ।