प्रदेश 1

एक महीने महिला हिंसाविरुद्धको अभियान

इलाम । जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको आयोजनामा गत भदौ २१ गतेबाट इलाममा जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महिने अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानको आइतबार एक समापन कार्यक्रमका अवसरमा जिल्लाका विभिन्न स्थानमा भएको कार्यक्रममा ३५५३ जनालाई यौनजन्य हिंसासम्बन्धी जानकारी गराइएको थियो ।

बालिकालाई सुरक्षित राख्न सबैभन्दा बढी, अभिभावक र समाज शिक्षित हुनुपर्ने र बालिकालाई शिक्षामा जोड दिनुपर्ने समापन कार्यक्रमका सहभागीले जोड दिए । अशिक्षित भन्दा पनि शिक्षित ब्यक्तिकै कारण बालिका तथा महिला पीडित हुने भन्दै महिलालाई आत्मनिर्भर तथा बालबालिकालाई शिक्षामा जोड दिन सके हिंसाका घटनामा कमी आउने सहभागीको जोड थियो ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले एक महिने अभियान समाप्त भए पनि यससँग सम्बन्धित कार्यक्रम निरन्तर गरिरहनुपर्ने बताए । उनले विकृतिमुक्त समाज स्थापनामा मदिरा नियन्त्रणले सहयोग पुग्ने बताउँदै यसतर्फ पनि सोच्न आग्रह गरे ।
अभियनका संयोजक तथा जिल्ला युवा समितिका प्रकाश परियारले गाउँगाउँमा जाँदा बालिकाको अवस्था नाजुक रहेको बताउँदै शिक्षाले नै उनीहरूको स्तर माथि उठाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रममा विभिन्न सङ्घसंस्था, कार्यालय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।