सुदूरपश्चिम

धनगढी बसपार्कमा पार्कीङ शुल्क तीन गुणा बढ्यो, उप–महानगरपालिकाको आम्दानी बढेन

कैलाली । धनगढी बसपार्कबाट उप–महानगरपालिकाले पाउने आम्दानी ५१ हजार मात्रै बढेपनि बस पार्कीङको शुक्ल पहिलेको भन्दा तीन गुणाले बढेको छ। धनगढी उप–महानगरपालिकाले विगतमा सुदूरपश्चिम यातायातलाई बार्षिक ७५ लाखमा बसपार्क भाडामा दिएको थियो। अहिले वसपार्क मर्मतपछि बसपार्क सञ्चलनको जिम्मा नयाँ बोलपत्र आह्वान भएर रेखा निर्माण सेवाले पाएको छ।

रेखा निर्माण सेवाले बार्षिक ७५ लाख ५१ हजारमा ठेक्का पाएको हो। उप–महानगरपालिकाका आलेप अधिकृत लेखनाथ ओझाले तीन पटक बोलपत्रको सुचना प्रकाशीत गरेपनि एउटा मात्रै कम्पनीको टेण्डर परेकाले ५१ हजार मात्रै आम्दानी बढेको बताए। तर बस पार्कीङ बाफत सार्वजनिक सवारी साधनले तिर्नु पर्ने शुक्ल भने विगतको भन्दा तीन गुणाले बढेको छ।

विगतमा सुदूरपश्चिम यातायाले एउटा बस पार्कीङ गरे वापत छोटो दुरीमा ५० देखि लामो दुरीमा २ सय ५० सम्म शुक्ल लिदै आएको थियो। अव भने रेखा निर्माण सेवाले एउटा बसबाट एउटा बस पार्कीङ गरे वापत एउटा टिकटको ४० प्रतिशत हुन आउने रकम बराबर शुल्क लिन पाउने नियम उप–महानगरपालिकाले स्वीकृत गरेको हो।

उप–महानगरपालिका आलेप अधिकृत ओझाले एउटा बस एक पटक बसपार्कमा पार्कीङ गरे वाफत एउटा टिकटको ४० प्रतिशत बराबर शुल्क तिर्ने नियम बनाईएको बताए। एक जनाको भाडा २ हजार भए अव रेखा निमाण सेवाले उक्त बसबाट ८ सय रुपैया लिने छ।

सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले ४० प्रतिशत रकम विगतमा संकलन हुने शुल्क भन्दा तीन गुणा बढि हुने बताए। उनले उप–महानगरपालिकाको आम्दानी बार्षिक रुपमा ५१ हजार मात्रै बढ्ने तर ठेकेदारलाई मोटाउने गरि सम्झौता गर्ने तयारी भईरहेको आरोप लगाए।

धनगढी उप–महानगरपालिकाले यसै महिना भित्रै रेखा निर्माण सेवासंग ठेक्का सम्झौता गर्ने तयारी गरिरहेको छ। बसपार्कमा अव जुनसुकै यातायातका सवारी साधनले पनि पार्कीङ गर्न पाउनेछन्। तर बसपार्क निर्माणाधिन अवस्थामै ठाउँ–ठाउँमा भत्किएको छ।