आर्थिक

कर्णाली सरकारको बजेट कार्यान्वयन सुस्त

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त देखिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार  मन्त्रालयमा पत्रकार भेटघाट गरी सरकारको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका छन्।

उनले भौतिक संरचना अभाव, कर्मचारी अभाव तथा संयन्त्र अभावका कारण बजेट खर्च गर्न नसकेको बताए। चालु आर्थिक वर्षका लागि कर्णाली सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ रकम विनियोजन गरेका छ। जसमध्ये पुँजीगततर्फ विनियोजन गरिएको २० अर्ब बजेटमध्ये हालसम्म ८९ लाख ६७ हजार ९७४ रुपैयाँ मात्र खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए।

‘विभिन्न संरचनागत अभाव, दक्ष प्राविधिक कर्मचारीको अभावले विकासे बजेट खर्च गर्न सकिएन,’ मन्त्री ज्वालाले भने, ‘पुँजीगत बजेट २० अर्बमध्ये हालसम्म खर्च भएको बजेट ८९ लाख ६७ हजार ९०० सबै मन्त्रालयको खर्च हो।’ खर्च भएको बजेटको आँकडालाई हेर्ने हो भने बजटको एक प्रतिशत पनि खर्च भएको छैन। कर्णाली प्रदेशमा दुई हजार २०० कर्मचारीको दरबन्दी भए पनि अहिले २० प्रतिशत कर्मचारी पनि नभएको मन्त्री ज्वालाले बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डुण्डीप्रसाद निरौलाले एक अर्ब ६४ करोड प्रशासनिक खर्चमध्ये हालसम्म छ करोड तीन लाख ५९ हजार रुपैयाँ खर्च भएको जानकारी दिए।