राजनीति

नेविसङ्घमा ३२ बर्षे उमेर हद लगाउन महामन्त्रीको जोडदार माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेविसङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेविसङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

नेवि सङ्घका महामन्त्री आनन्दराज त्रिपाठीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय पुगेको सङ्घको टोलीले सभापति देउवालगायत नेताहरुलाई भेटेर ११औँ महाधिवेशनमा लगाइएको उमेर हद लगाउन माग गरेको प्रवक्ता प्रेमराज जोशीले जानकारी दिए ।

सङ्घको विधान २०२७ को छैठौ संशोशन २०७३ भाग २ को धारा ५(घ) ले नेवि सङ्घको सदस्यतामै नेतृत्वको उमेर समूह (३२ वर्ष) निर्धारण गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अवसरमा सभापति देउवाले सङ्घको विधानबारे पार्टी केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने बताए । नेवि सङ्घको दुई वर्षे कार्यकाल भदौ २ गते सकिएर तीन महीनाका लागि थपिएको छ ।