स्वास्थ्य

सिसडोलवासीलाई काठमाडौँ महानगरपालिकाको एम्बुलेन्स

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिको सिसडोल क्षेत्रका प्रभावित बासिन्दाका लागि काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ ।

कामपाले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरुप आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर सिसडोल क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गाउँपालिकाका प्रमुख मानबहादुर लामालाई एम्बुलेन्सको चासो हस्तान्तरण गरे । काठमाडौँबाट फोहर लाँदा र सिसडोलमा थुपारिएको फोहरबाट प्रत्यक्षरुपमा प्रभावित भएका नागरिकलाई सहयोगस्वरुप एम्बुलेन्स हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले काठमाडौँ उपत्यकाको १८ वटै स्थानीय निकायसँग समन्वय गरी तत्कालका लागि वैकल्पिक स्थान र केही समयपछि दीर्घकालीन फोहर व्यवस्थापन स्थान तय गर्न आफू लागिपरेको बताए।

कामपाका उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले फोहरका कारण प्रभावित भएकालाई एम्बुलेन्स मात्र दिएर नपुग्ने भन्दै तत्काल समस्या समाधानको उपाए खोज्नुपर्नेमा जोड दिए । गाउँपालिकाका प्रमुख लामाले सरकारले १३ वर्षअघि दुई वर्षका लागि थुपार्ने स्थानका रुपमा लिएको हो, हालसम्म पनि विकल्पसमेत तय गर्न नसक्दा नागरिकले क्यान्सरजस्ता रोगको सिकार बन्नुपरेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरे ।

लामाले भने, “दुई वर्षका लागि लिएको स्थानमा अझै फोहर व्यवस्थापन गरिँदै आएको छ, यो कहिलेसम्म हो, अब तत्काल यस समस्याको समाधान नहुने हो भने अन्य ठूला समस्या आउँछन् ।” सिसडोलको फोहरबाट झण्डै ३५ हजार नागरिक प्रभावित भएको प्रमुख लामाको भनाइ छ ।

एक वर्षअघि भएको सम्झौताअनुरुप प्रभावित क्षेत्रलाई कामपा र ललितपुर महानगरले गरी एक÷एक वटा एम्बुलेन्स प्रदान गर्ने भने पनि ललितपुर महानगरले भने प्रक्रियामा मात्र रहेको जानकारी सो महानगरका उपप्रमुख गीता सत्यालले कार्यक्रममा जानकारी दिए ।

नगरपालिका फोरम स्थापना

यसैबीच गत शुक्रबार कामपाका प्रमुख शाक्यको अध्यक्षतामा सम्पन्न उपत्यकाका नगर प्रमुख र उपप्रमुखको भेलाले उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको छ ।

विकास निर्माण तथा व्यवस्थापनका साझा सवालमा एउटै कार्यक्रम तथा सोच निर्माण गर्ने उद्देश्यले यस किसिमको फोरमको स्थापना गरिएको हो । फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव छन् भने सदस्यमा काठमाडौँका चन्द्रागिरि, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर र टोखा नगरपालिका ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख र उपप्रमुख छन् ।