अन्तर्राष्ट्रिय

लिबियामा छ लाख अवैध आप्रवासी

ट्रिपोली । लिबियामा छ लाख भन्दा बढी अवैध आप्रवासीहरु रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले जनाएको छ ।    आइओएमले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा लिबियामा ४१ देशका आप्रवासीहरु अवैध रुपमा बस्दै आएको उल्लेख छ । “गत जुलाई र अगस्ट महिनामा आप्रवासी संगठनले छ लाख ६९ हजार १७६ जना आप्रवासीको पहिचान गरेको छ । यी आप्रवासीहरु लिबियाका झण्डै १०० ओटा नगरपालिकामा बसोवास गरिआएका छन्,” आइओएमले भनेको छ ।

लिबियामा रहेका आप्रवासीमध्ये सबैभन्दा धेरै नाइजर, इजिप्ट, चाड, सुडान र नाइजेरियाका नागरिक रहेका छन् । लिबियामा रहेका आप्रवासीहरु शिविरमा ठूलो भिड लाग्ने गरेको छ । लिबियाका सुरक्षाकर्मीहरुले यी आप्रवासीलाई समुद्रबाट उद्धार गरिएको वा पक्राउ गरिएको हो ।

स्थानीय अधिकारीहरुसँगको सहकार्यमा आइओएमले स्वेच्छिक घरफिर्ती कार्यक्रम सञ्चालन गरिआएको छ । उत्तर अफ्रिकी मुलुकहरुमा सन् २०११ देखि भड्किएको द्वन्द्व र बढ्दो असुरक्षाका कारण भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्नेहरुले लिबियालाई प्रयोग गर्ने गर्दछन् ।