बाग्मती

काठमाडौँका मेयर शाक्यले सर्वोच्चको अन्तरिम आदेश नमान्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण छैन”, कामपाका प्रमुख शाक्यले भने । महानगरले पुरातत्व संरक्षण ऐनमा सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम रहेको जनाएको छ ।

पुरातत्व विभागले गत जेठ १५ गते महानगरलाई ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनः निर्माण गर्नू’ भनेकाले अब भत्काउन कुनै अप्ठेरो नपर्ने महानगरको दाबी छ । कामपाका जनप्रतिनिधिका लागि आयोजना गरेको दुईदिने सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिवृद्धिसम्बन्धी शनिबार सम्पन्न दुईदिने अभिमुखीकरण तालीममा प्रमुख शाक्यले सो धारणा राखे ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत बुधबार बागदबार नभत्काउनू भनी अन्तरिम आदेश दिएको थियो । कामपाले हरिभवन भत्काउने तयारी गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले ऐतिहासिक दरबार भएकाले नभत्काउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा गत सोमबार रिट निवेदन दायर गरेका थिए । केही दिनअघि कामपाका सहप्रवक्ता नमराज ढकालले हरिभवन भत्काउन पाँच वटा आशयपत्र पेश गरिएको बताए । करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ । परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने गरी निर्माण गर्ने कामपाको योजना थियो ।