समाचार

दशैँ तिहारले सम्बन्धलाई मजबुत बनाउने काम गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीले डा. गंगा प्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका छन् । यसैगरी सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत थिए ।

प्रधानमन्त्री ओलीले उपकुलपति डा. उप्रेतीलाई आजै सिंहदरबारमा पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने बताएका छन् ।

“साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भनेका छन् ।

नेपालको सामाजिक मूल्य मान्यता विश्वमा नै अनुपम रहेको बताएका छन् । नेपालमा जस्तो सामुहिक परिवार विश्वमाकतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “यो प्रणालीबाट धेरैे संस्कार सिक्न सकिन्छ । ”

प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ । “दिदी भाइ बीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भएदशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भएतिहारले मिलाइदिन्छ” प्रधानमन्त्री ओलीले भने “हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुन मर्मत गर्ने काम गरेका छन् ।”