स्वास्थ्य

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

न्यूरोलोजिस्ट डा. वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा. यमबहादुर राना, हाड जोर्नी डा. नवीन कर्ण, डा. सुदीप खनिया, डा. समर्थ सिंह, डा. राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा. नारायणी रोका, आँखा रोग डा. रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा. सुरेशप्रसाद साह, बालबालिका डा. अमितप्रताप साह, दन्त रोगलगायतकाले उक्त ठाउँमा सेवा प्रदान गरिएको न्यूरो अस्पतालका प्रमुख वीरेन्द्र विष्टले बताए।

त्यस्तै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वर्तमान जीवनशैलीमा उच्च रक्तचापको बारेमा विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा पहिलो कक्षा १० का मनोज साह, दोस्रो अभिषेक कार्की र तेस्रो दिपीका चौधरी भएका छन् । पहिलो, दोस्रो तेस्रो हुनेलाई न्यूरो अस्पतालले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार वितरण गरेको सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तमकुमार शर्माले जानकारी दिए ।