सुदूरपश्चिम

स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

बैतडी । बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् ।

केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि शुरुवात गरेका भए पनि धेरैजसो ठाउँमा सहकारी ऐन निर्माणको काम नै शुरु हुनसकेको छैन । सहकारी ऐन निर्माणका लागि कर्मचारीको अभाव रहेको डिलाशैनी गाउँपालिकाका कृषि शाखा प्रमुख जनकबहादुर सिंहले जानकारी दिए । उनले भने, “स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भएका भए पनि ऐन भने बन्न सकेको छैन”, सहकारी संस्था दर्ताका लागि अहिलेसम्म कोही नआएको र ऐनसमेत नबनेको दशरथचन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताए । उनले भने, “नगरपालिकाले सहकारी ऐन बनाउने तयारी गरिरहेको छ ।”

जिल्लाका १० वटै स्थानीय तहमा सहकारी ऐन बन्न सकेको छैन । स्थानीय तहमा सहकारी हस्तान्तरण भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेका साविकको डिभिजन कार्यालयका तत्कालीन प्रमुख दुर्गासिंह धामीले जानकारी दिए । स्थानीय तहमा सहकारी ऐन नहुँदा सहकारीलाई अप्ठयारो भएको सुनौलो बचत तथा ऋण सहकारी संस्था पाटन बैतडीका अध्यक्ष केशव विष्टले बताए ।