शिक्षा

कक्षा ११ को नतिजा प्रकाशित, १ हजार १४५ विद्यार्थीले ल्याए ३.६१ देखि ४.० जीपीए

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल शनिबार साँझ सार्वजनिक गरेको छ । बोर्डका अनुसार अक्षंराङ्कन पद्धति (ग्रेडिङ प्रणाली)मा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।

नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ८ हजार ९ सय ४९ जना छन् । त्यस्तै जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन् । ४८ हजार ७ सय ३२ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार ७ सय ७० रहेको छ ।

९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए पाएका हुन् । १.२१ देखि १.६० जीपीए ल्याउने ४१ हजार ४ सय ६ जना र ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विदार्थीको संख्या ८ हजार १ सय २७ रहेको छ । ०.० देखि ०.८० जीपीए पाउने २० हजार ६ सय ८५ विद्यार्थी छन् ।

आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म भएको थियो । विगतका वर्षहरुमा भन्दा झण्डै ३ महिना पहिले नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।