सामाजिक सञ्जाल

यी वडाध्यक्ष जसले नगरपालिकाले दिएको मोटरसाइकल लिएनन्….

बिराटनगर । पछिल्लो समय जनप्रतिनिधिले आफूखुशी सुविधा लिएका र त्यसको विरुद्ध जनताहरू आक्रोशित भएका खबर बाहिर आइरहँदा बेलबारी नगरपालिकाका १ जना वडाध्यक्षले भने नगरपालिकाबाट आफूले पाएको मोटरसाइकल नलिने घोषणा गरेका छन् ।
पूर्व शिक्षक समेत रहेका बेलबारी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले आफू जनताको सेवक भएकाले जनताको करबाट उठेको थप सुविधा नलिने घोषणा गरेका हुन् ।

अरु स्थानीय पालिकाका जनप्रतिनिधिहरू कसरी बढी सुविधा लिन सकिन्छ भन्ने ध्याउन्नमा छन् तर गौतम भने आफूले पाएको सुविधा पनि फिर्ता गरेर आफूलाई साँच्चै जनप्रतिनिधिको रूपमा उभ्याउन सफल देखिएका छन् ।

गौतम भन्छन्, ‘हामी जनताको काम गर्न भनेर यहाँ आएका हौँ । जनताको सेवा गर्नेले सुविधाभोगी हुनुहुन्न । त्यसमा पनि वामपन्थीहरूले त हुँदै हुन्न भन्ने मेरो विचार हो । मसँंग आफ्नै पुरानो मोटरसाइकल छँदैछ । एउटा हुँदाहुँदै अर्को नयाँ लिएर किन नगरपालिकाको खर्च बढाउने रु नगरपालिकाको खर्च बढ्नु भनेको स्थानीय जनतालाई थप आर्थिक बोझ बोकाउनु हो भनेर यस्तो निर्णय गरेको हुँ ।

उनी आफूले नगरकार्यपालिकाको बैठकमै जनप्रतिनिधिले मोटरसाइकल लिन नहुने विचार राखेको तर त्यो विचार त्यतिखेर अल्पमतमा परेको बताउँछन् । पहिले घोषणा गरेको आफ्नो विचारलाई कार्यान्वयनमा लगेको उनी बताउँछन् ।

चालु आर्थिक वर्षको बजेटमै नगरपालिकाले सवारी साधन शीर्षकमा ७० लाख बजेट विनियोजन गरेको देखिन्छ । तर नगरपालिकाले खरिद गरेका मोटरसाइकल सो शीर्षकबाट नभई प्रशासनिक खर्चबाट बचाएर खरिद गरेको बताएको छ ।
नगरपालिकाको रेकर्डमा मोटरसाइकल खरिदमा रु ३६ लाख ५ हजार ५ सय ९९ रुपैयाँ निकासा भएको देखिन्छ ।

लेखा शाखाले दिएको जानकारीअनुसार नगरपालिकाले क्याटलग प्रणालीमार्फत् खरिद गरेको मोटरसाइकलकोे हरेकको कम्पनी मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ पर्न जान्छ । तर नगरपालिकाले ८ हजार छुटसहित प्रति २ लाख ६१ हजार ९ सय रुपैयाँका दरले ती साधन खरिद गरेको जनाएको छ ।
नगरपालिकाले १ सय ६० सिसी क्षमता रहेका १३ वटा सिबि युनिकन होण्डा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेर ११ वटै वडाका वडाध्यक्षहरूलाई वितरण गरेकोमा ९ वटा वडाले यस अघि नै मोटरसाइकल लिइसकेका छन् । तर वडा नम्बर २ र ३ का वडाध्यक्षले भने मोटरसाइकल लिएका छैनन् ।
वडा नम्बर २ का वडाध्यक्ष गौतमले मोटरसाइकल नलिने घोषणा गरिसकेका छन् तर वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी भने आफूले नलिने निर्णय नगरेको बताउँछन् । अहिले आवश्यक नपरेकाले आफूले सो सवारी साधन नलिएको तर आवश्यक परेको समयमा भने लिन सक्ने बताउँछन् । गौतमको घोषणालाई भने नगरवासीले सकारात्मक रूपमा लिएका छन् ।

बेलबारी – २ लालभित्तीका लोकनाथ ढकाल वडाध्यक्षले आफूले पाएको मोटरसाइकल फिर्ता दिनुलाई सकारात्मक रूपमा लिन्छन् । अरु वडाध्यक्षहरूले पनि सो सुविधा नलिएको भए राम्रो हुने थियो भन्ने उनको भनाइ छ ।

त्यसो त केही स्थानीयले भने नगरपालिकाले जनप्रतिनिधिलाई मोटरसाइकल बाँड्नुलाई नै गलत रूपमा लिन्छन् । जनताको सेवा गर्छांै भनेर चुनाव जितेका जनप्रतिनिधिहरूले आफ्नो सुविधाको बारेमा मात्र सोच्न नहुने उनीहरूको मत रहेको छ ।

केही नगरवासीहरूले भने नगरपालिकाले विकास निर्माणको बजेटबाट मोटरसाइकल खरिद गरेको आरोप लगाउन पनि पछि पर्दैनन् । तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सो आरोपको खण्डन गर्दै भन्छन्, ‘नगरपालिकाले सवारी साधन खरिदमा विकास निर्माणको कुनै रकम खर्च गरेको छैन । प्रशासनिक खर्च शीर्षकको रकम जोगाएर खरिद गरिएको हो ।’ प्रदेश पोर्टल