समाचार

राजधानीमा प्रदर्शनः गृहमन्त्री र आईजिपी नै बलात्कारीको संरक्षक भएको भन्दै तत्काल राजिनामा दिन माग

काठमाडौंँ । कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा संलग्न पत्ता लगाएर कारवाहीको माग गर्दै शनिबार राजधानीमा व्यापक प्रदर्शन गरिएको छ । हजारौँ सर्वसाधारण सहभागी प्रदर्शनमा निर्मलाको हत्या भएको झण्डैँ ३ महिना बितिसक्दासमेत घटना झन्झन् रहस्यमयी बन्दैँ गएको परिप्रेक्ष्यमा बलात्कारी र हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको हो ।

उक्त प्रदर्शनमा यतिका दिनसम्म पनि बलात्कारी पत्ता लगाउन नसकेको भन्दैँ गृहमन्त्री राम बहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजिनामा माग गरिएको छ । प्रदर्शंनमा सहभागी भएका विभिन्न दलका प्रतिनिधी, महिला अधिकारकर्मी, पत्रकार, सर्वसाधारणले यथाशशीघ्र बलात्कारलाई तत्काल कानुनको कठघरामा उभ्याउन नसके गृहमन्त्री र प्रहरी महानिरीक्षकले तत्काल राजिनामा दिनुपर्ने बताएका थिए ।

सरकारका उच्च आहोदाबाटै निर्मला हत्या प्रकरणबारे शंकास्पद अभिव्यक्ती आउने गरेका भन्दैँ सरकार नै यो घटनाको दोषी रहेको प्रदर्शनमा सहभागी केहीले बताए ।