कृषि

इलामलाई सरकारले गर्यो किबी जोन घोषणा

मङ्गलबारे । किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो ।

इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र घोषणा गरिएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले जानकारी दिए ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ शुरू भएको परियोजना आर्थिक वर्ष २०७३÷७४ देखि सञ्चालनमा आएको र चालु आवदेखि इलाममा पनि सञ्चालन गरिएको उनले बताए ।

यस क्षेत्रका किसानले जिल्लाका सुलुबुङ, साँखेजुङ, माइपोखरी, जमुनालगायतका गाउँलाई किबी जोन माग गर्दै आएका थिए । किबी जोन भएपछि यस क्षेत्रका किसान हर्षित भएका छन् । फलको राजा उपनामले चिनिएको किबी फलको जिल्लामै पहिलो पटक व्यावसायिक खेती शुरू गरेका सुलुबुङका तारामणि खतिवडा आजभोलि किबी फलको बजार खोज्न व्यस्त छन् ।

उत्पादनको शुरूमा किबी फल रु १५० देखि २५० सम्ममा बिक्री हुन्छ । होलसेलमा ए ग्रेडको २५०, बी ग्रेडको २०० र सि ग्रेडको १५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । उनले ७० रोपनी जमीनमा ७०० बिरूवा लगाउनुभएको छ भने ३०० बिरूवाबाट उत्पादन लिइरहनुभएको छ । यसवर्ष उनले दुई हजार ५०० किलो उत्पादन हुने अनुमान गरेका छन् ।

किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आउनुभएका साँखेजुङका गङ्गा विष्टलाई नयाँ खेतीप्रति नै मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत नै बनाएका छन् । फलभन्दा पनि बिरूवा बढी मूल्यमा बिक्री हुने गरेको उनी बताउछन्।

एउटा बिरूवा करीब रु तीन सयसम्ममा बिक्री हुने गरेको छ । रेड र हेवार्ड जातको किबी फल अत्यन्तै मीठो र पोषिलो हुने गर्दछ । पाँचथर, ताप्लेजुङ, भोजपुर, इलामलगायत पूर्वाञ्चलका ४०/४५ हजार किसानले यसको व्यावसायिक खेती शुरू गरेको वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकासले जनाएको छ ।

किबी फलमा इलामका करीब २३ हजार घरपरिवार संलग्न रहेका छन् । स्याउ, सुन्तलाजस्ता फलफूल भन्दा बढी क्यालोरी पाइन्छ । एक बोटबाट कम्तीमा २०० देखि २५० किलोग्रामसम्म फल उत्पादन हुने गरेको छ । जिल्लामै करीब ६० देखि ७० हजार किलोग्राम उत्पादन हुने किसानको अपेक्षा छ ।

किबी जोन बनाउन त्यस क्षेत्रमा कम्तीमा ५०० हेक्टर ९१० हजार रोपनी० जमीनमा किबीको व्यावसायिक खेती गर्नुपर्ने परियोजनाले जनाएको छ । उक्त परियोजना कार्यान्वयनका लागि इलाममा चालु आर्थिक वर्ष २०७५÷७६ मा रू एक करोड तीन लाख बजेट विनियोजन भएको छ ।