पर्यटन/संस्कृति

‘चिल्ड्रेन पार्क’ सर्वसाधारणका लागि खुला

पर्सा । वीरगञ्ज महानगरपालिकाको अलखिया मठस्थित माइराम पोखरीमा निर्माण भएको ‘चिल्ड्रन पार्क’ सर्वसाधारणका लागि खुला भएकोे छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज एक कार्यक्रमका बीच सर्वसाधारणका लागि पार्क खुला गरेका हुन् ।

नेपाल सरकार, नगर विकास कोष र महानगरपालिकाको रु तीन करोड ९८ लाखको लगानीमा रु छ हजार ५०० वर्गमिटर क्षेत्रफलमा सुविधा सम्पन्न पार्क निर्माण भएको हो ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत निर्माण भएको पार्कको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले माईराम पोखरी जग्गाको क्षेत्रफल चार बिघाभन्दा बढी भए पनि स्थानीयवासीले अतिक्रमण गरेका कारण हाललाई करीब एक बिघामा मात्र पार्क निर्माण गरिएको जानकारी दिए । उनले अतिक्रमण गरिएका सार्वजनिक जग्गालाई फिर्ता लिने प्रक्रिया शुरु गरिएको र चाँडोभन्दा चाँडो जनताको नासो जनतालाई फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डा मष्मीकुमार भुसालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले करोडौँको लगानीमा निर्माण भएको पार्क जनताको सम्पत्ति भएकाले यसको संरक्षणमा सबैले सहयोग रहनुुपर्ने बताए ।

सर्वसाधारणका लागि खुला गरिएको पार्कमा वाटर फाउण्टेन, पदमार्ग, विश्राम स्थल, बालबालिकालाई खेल्ने चिप्लेटी, ब्याडमिन्टन कोट, टेबलटेनिस कोट, मञ्च र शौचालयसहित पार्कभित्र चारैतिर विभिन्न प्रजातिका फूल तथा रुखका बिरुवा लगाइएको महानगरपालिकाले जनाएको छ ।