समाचार

आ–आफ्नो व्यक्तिगत सुरक्षाका लािग यस्तो तालिम लिदैँछन् महिला र किशोरी !

धनगढी । धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए ।

राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् ।

‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला जमघट भएको दृष्य हेर्नलायक देखिन्थ्यो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए ।

पहिलो पटक गरिएको नयाँ खालको यो अभियानप्रति सबैको उत्सुकता र चासो पनि बढेको देखिन्थ्यो । महिलाको आत्मसुरक्षाका लागि आयोजित यो शिविर नौलो अभ्यास भएकाले पनि सबैको उत्सुकता बढेको हो ।

प्रतिकार गरेपछि महिला स्वयम्ले आफ्नो रक्षा गर्न सक्छन्, भन्ने सोचले शिविर गर्न लागिएकोले आफू यो शिविरमा सहभागी हुन आएको प्रतिक्रिया गोमा आचार्यले दिए ।

स्थानीयवासी सर्वमङ्गला महिला छात्रावासकी सञ्चालिकासमेत रहेकी आचार्यले भनिन, ‘‘महिलाले चर्को त बोल्नुु हुन्न भन्ने हाम्रो समाजमा किशोरी र महिलाले आफूसँग भएको तागत प्रयोग गर्ने अभ्यास नै नपाएको अवस्थामा गरिएको यो अभियानले महिलालाई शारीरिक रुपमा सशक्त बनाउन मद्दत पुग्ने छ ।‘”

शिविरमा सहभागी हुनेमध्ये उत्कृष्ट हुने एकसय जनालाई छनोट गरी प्रशिक्षक बनाउने योजना आयोजकको छ । एक हप्तासम्म सञ्चालन हुने शिविरमा किशोरी र महिला गरी झण्डै एक हजार महिला छन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट यो अभियानवाट किशोरी र महिला ‘किक हान्न’ सक्षम भई स्वयं आफ्नो र समाजको सुरक्षाका लागि सक्षम हुने बताउछन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल धनगढीकी वसन्ती चौधरीले भन्नुभयो,‘‘कसैबाट महिलामाथि नराम्रो दुव्र्यवहार भएमा उसले कसरी सुरक्षित हुने भन्ने शारीरिक सीप यो तालीममा सिकाइने छ ।”

महिला हिंसामा परी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त लगायतको सम्झनामा मौन धारण गरेर कार्यक्रमको आंैपचारिक उद्घाटन शुरु भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गरे । सो अवसरमा उनले महिलाको स्वाभिमान बचाउने र आत्मरक्षाका लागि गरिने अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समाजमा जनजागरण फैलाउन यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।