प्रदेश 1

लायन्स क्लबद्वारा असक्त र असहाय अपाङ्ग ह्विलचियर

दमौली । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो ।

सामाजिक सेवामा क्रियाशील क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्ने क्लबका अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो । शुक्रबार १६ जनालाई ह्विलचियर वितरण गरिएको छ भने बाँकी ३४ जनालाई महोत्सवकै अवसर पारेर प्रदान गरिने उनले बताए ।

ह्विलचियर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठलगायतले प्रदान गरेका थिए । क्लबले महोत्सवका अवधिमा शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिसमेत वितरण गर्ने थापाले बताए ।