लुम्बिनी

स्वास्थ्य केन्द्र भवन सात वर्षदेखि अलपत्र

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ ।

सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व दक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा विसं २०५० देखि भाडाकै घरमा सञ्चालन भइरहेको छ । पन्ध्र शय्या केन्द्रको तीनतले भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीको लापरबाही र सरकारी उदासिनताले उक्त भवन अलपत्र परेको हो ।

निर्माण शुरू गरेको १८ महिनामा पूरा गर्ने सम्झौता भएको सो भवन अहिलेसम्म पनि निर्माण पूरा हुनसकेको छैन । रु तीन करोड ४० लाख लागतमा निर्माण शुरू गरिएको उक्त स्वास्थ्य केन्द्र भवनमा निर्माण कम्पनीले “काम गरे जस्तो पनि छ, नगरे जस्तो पनि छ । छत ढलान भइसकेको छ, अब अन्य काम गर्न मात्र बाँकी छ ।” भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।

भवन निर्माण अलपत्र परेसँगै यहाँका स्वास्थ्य संस्थामा एमबीबीएस गरेका डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महीनाभन्दा लामो समय बस्न नसकेको स्थानीयवासी बताउँछन् । अहिले भने केही महीनादेखि डाक्टर नियमित रूपमा केन्द्रमा आउन थालेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए । यहाँ दैनिक ७०/८० बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य संस्थाको भवन नभएका कारण डाक्टरलाई बस्ने व्यवस्था नरैनापुर गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउछन् । “डाक्टरको दरबन्दी त छ तर, एक दिन गाउँ बसे १० दिन नेपालगञ्ज बस्छन् । कोही पनि नियमित बस्न मान्दैनन्”, उहाँले भन्नुभयो, “भरपर्दो स्वास्थ्य उपचार अभावमा यहाँका बासिन्दा भारततर्फ जाने गरेका छन् ।”