गण्डकी प्रदेश

सरकारको भर्ना अभियान प्रभावकारी, पाँच विद्यार्थीको अभिभावकत्व ग्रहण

बलेवा । जिल्ला सदरमुकाम नजिकै रहेको एक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीको अभिभावकत्व यहाँको एक सामाजिक संस्थाले ग्रहण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत तीन चेपाङ र दुई विपन्न परिवारका बालबालिकाको अभिभावकत्व स्थानीय मालिका समाजले ग्रहण गरेको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको उक्त समाजले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा कक्षा ३ मा अध्ययनरत सुस्मिता चेपाङ, कक्षा ५ मा अध्ययनरत सुनिता चेपाङ, कक्षा ४ मा अध्ययनरत रोजिना सापकोटा, कक्षा ७ मा अध्ययनरत गाणेश सापकोटा र कक्षा १ मा अध्ययनरत सीता विकको अभिभावकत्व ग्रहण गरिएको समाजका अध्यक्ष दुर्गा कुँवरले बताए । उनीहरुलाई कक्षा ८ सम्म विद्यालयमा लाग्ने सबै खर्च समाजले व्यहोर्ने भएको छ ।“विद्यालयमा आवश्यक शैक्षिक सामग्री, पोशाक, दिवा खाजालगायत सबैखाले सहयोग गर्ने भनेका छौँ”, अध्यक्ष कुँवरले भने ।

पर्व लक्षित सडक सुधार
बागलुङ नगरपालिकाले चाडपर्वका बेला गाउँ फर्किने यात्रुलाई सडकको सुविधा सहज बनाउन सडक मर्मत सडक बत्तीलगायतका पूर्वाधार सुधारको काम थालेको छ ।

नगरभित्रका सबै वडामा रहेका सडक मर्मत तथा जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेका सडक बत्तीको मर्मतको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । उनले भने, “एक हप्ताभित्र काम सक्ने गरी सडक मर्मतको काम थालिएको र यसका लागि विभिन्न आठ वटा कम्पनीमध्ये छनोट भएका दुई कम्पनीले छिटै काम गर्ने भएका छन् ।

एक वर्ष पहिला बजारका सौर्य बत्ती बिग्रिन थालेपछि नगरपालिकाले मर्मतका लागि सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । चाडपर्वको समयमा बजार क्षेत्रमा राति आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै नगरपालिकाले दशैँअघि नै सडक बत्ती मर्मत गर्न निर्देशन दिएको हो ।

बागलुङ बजारमा सौर्य ऊर्जाका २०६ सडक बत्ती छन् । केही बत्तीको ब्याट्रीमा खराबी आएका कारण मर्मत गर्नुपर्ने भएको सडक बत्ती उपभोक्ता समितिका अध्यक्ष दयाराम पौडेलले बताउनुभयो । सडक बत्तीका लागि ऊर्जा कम्पनीले बल्वमा दुई वर्ष, प्यानलमा पाँच वर्ष, ब्याट्रीमा दुई वर्ष र पोलमा २० वर्षको वारेण्टी दिएका थिए ।