कर्णाली प्रदेश

सरकारको प्रतिपक्षी भनेकै गरिबी होः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताएका छन् ।

कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताए ।

मुख्यमन्त्री शाहीले भने, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उनले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गरे ।

उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासका निम्ति सरकार कटिबद्ध भएर लागेको जानकारी दिँदै विकासका सम्भावनाको खानीमा बसेर गरिबीको बिल्ला भिर्नुपर्ने विवशताबाट मुक्ति पाउन कर्णालीवासीले थुपै चुनौतीका पहाड फोड्नुपर्ने र हरेक तहले विकासको महाअभियानमा एकसाथ लाग्नुपर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले संरचनाबिनै सरकार सञ्चालन गर्नुपर्दा अधिकतम् समस्या सामना गर्नुपरेको बताए । अन्तक्र्रियामा कालीकोट जिल्लाका नौवटै स्थानीय सरकारका प्रमुखले सिंहदरबारको अधिकार अहिलेसम्म गाउँमा नआएको र जनशक्ति अभावमा काम गर्नुपरेको गुनासो गरेका थिए ।

खाँडाचक्रमा सिसी क्यामेरा
कालीकोट सदरमुकाम मान्म खाँडाचक्रमा शुक्रबार १७ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मुख्यमन्त्री शाहीले उक्त कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले छोटो समयभित्र कालीकोट सदरमुकामलाई डिजिटल प्रणालीमा जोड्न पहल गरिने जानकारी दिए ।
“मान्म अब कर्णाली प्रदेशको सुरक्षित सदरमुकाम बन्नेछ”, उनले भने, “प्रविधिको साहायताले यहाँका नागरिकको शान्ति सुरक्षामा मात्र टेवा मात्र पुग्ने छैन हरेकको असल चरित्र निर्माणमा सघाउ पु¥याउनेछ ।”

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सुर्खेत, दैलेख, जुम्ला र मुगु जाने मान्छेको आवतजावतलाई सहज बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम सिसी क्यामेरा जडान गरिएको बताए ।

जिल्ला प्रहरी प्रमुख तथाप्रहरी नायब उपरीक्षक विनोद शर्माले खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी र स्थानीय बैंकको सहयोगमा रु ११ लाखको लगानीमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिए । उक्त प्रविधिको कन्ट्रोलरुम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।