अन्तर्राष्ट्रिय

भष्ट्राचार र शक्ति दुरुपयोग मुद्धामा दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली दोषी ठहर : १५ वर्षकाे जेल सजाय

काठमाण्डौ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्ति दुरुपयोग गरेको ठहर गर्दै त्यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्ति दुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने पूर्व राष्ट्रपति लीलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ ।

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ वर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएका छन । दक्षिण कोरियामा जेल जाने उनी चौथो पूर्वनेता हुन् । उनको उत्तराधिकारी पार्क गुन हेलाई गएको अप्रिल महिनामा कारागार पठाइएको थियो । शक्ति दुरुपयोग गरेको र अरूलाई दबाब दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय तोकेएको थियो ।  उनीविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उनी प्रथम निर्वाचित राष्ट्रपति हुन् ।