समाचार

बालअधिकार हननसम्बन्धी ५८३ घटना

काठमाडौँ । केन्द्रीय बाल कल्याण समितिले आव २०७४/०७५ मा ५८३ वटा बालअधिकार हननसम्बन्धी घटना भएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार ती घटनामा बाल श्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, ओसारपसारलगायत ११ शीर्षकमा एक हजार २७३ बालबालिका प्रभावित भएका छन् ।

सबैभन्दा बढी अन्तिम चौमासिकमा ३०६ घटना सङ्ख्या हुँदा ६७५ बालबालिका प्रभावित भएका थिए । पहिलो चौमासिकमा ९६ घटना भएकामा १९५ बालबालिका प्रभावित थिए भने दोस्रो चौमासिकमा १८१ घटना हुँदा ४०३ बालबालिका प्रभावित भएका हुन् ।

परिवर्तित नेपाल नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको ‘बाल बालिकामाथि हुने दुव्र्यवहार तथा यौन हिंसा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा सहभागीले यस्ता घटना न्यूनीकरणका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बालबालिकाका क्षेत्रमा क्रियाशील सबै सङ्घ संस्थाले गरेका विभिन्न खोज अनुसन्धानका प्रतिवेदन तथा बालअधिकार संरक्षणका लागि बनाएका योजनाका बारे स्थानीय तहको सरकारसँग समन्वय गर्नुपर्ने विचार व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका–१४ का वडासदस्य वसन्त महर्जनले केन्द्रीय सरकारबाट स्थानीय तहमा अधिकार प्रत्यायोजन नभएका कारण बालबालिकाका आवश्यक संरक्षण गर्न नसकिएको बताए ।

कामपा–२६ का वडासदस्य तीर्थकाजी डङ्गोलले काठमाडौँमा महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा परिचित ठमेलमा भएका विभिन्न डान्स बार, रेष्टुराँ, खाजा घर, ब्युटीपार्लरलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत बालबालिका बढी जोखिममा रहेकाले त्यस्ता व्यवसाय र कामदारको लगत सङ्कलन गरिने बताए ।

परिवर्तित नेपालका अध्यक्ष मोहनी लामाले बालबालिकालाई विभिन्न आपराधिक गतिविधिमा प्रयोग गरेर पैसा कमाउने गिरोहको सङ्गठन भत्काउनुपर्ने विचार व्यक्त गर्दै त्यसका लागि सरकारले बालबालिकाको सुरक्षा तथा संरक्षणका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।