गण्डकी प्रदेश

सङ्घीयता विरोधीले करको भ्रम फैलाए : मन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सङ्घीयता विरोधीले अनावश्यकरुपमा करको भ्रम फैलाएको बताएका छन् । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आजदेखि शुरु भएको ‘शुक्लागण्डकी लायन्स महोत्सव’को उद्घाटन गर्नुहुँदै उनले सामाजिक सञ्जालबाट अनावश्यकरुपमा करको भ्रम सिर्जना भएको बताए ।

“सङ्घीयता विरोधीले करको भ्रम सिर्जना गरिरहेका छन्” उनले भने, “त्यसको पछाडि नलाग्न म सबै सर्वसाधारणलाई आग्रह गर्दछु ।” मन्त्री गुरुङले राज्यले जनतालाई मार नपार्ने गरी कर उठाउनेसमेत बताए । उनले मुलुक समृद्ध बनाउन देशलाई योगदान गर्नुपर्ने भन्दै भने, “कर तिरेमात्रै मुलुक समृद्ध हुन्छ ।” उनले कर छल्ने, ठग्नेजस्ता काम बन्द गर्न आग्रह गर्दै कर तिरे मात्रै नेपाली नागरिक भइनेसमेत बताए ।

गुरुङले समृद्ध प्रदेश अभियानमा सबै सामाजिक सङ्घसंस्थाको साथ आवश्यक रहेको बताए । उनले नेपालीको मौलिक संस्कृति र पहिचानलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । “सांस्कृतिक हिसाबले हामी कहिल्यै गुलाम भएनौँ, सांस्कृतिक हिसाबले हामी कहिल्यै पराधिन भएनौँ, भौगोलिक हिसाबले पनि कहिल्यै पराधिन भएनौँ,” उनले भने, “हाम्रो आफ्नै मौलिक संस्कृति छ, हाम्रो आफ्नै मौलिक पहिचान र त्यसलाई जोगाएर राख्नुपर्छ ।” मन्त्री गुरुङले संस्कृतिलाई विकास गर्नका निमित्त पर्यटनसँगै जोडेर अगाडि लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले शुक्लागण्डकी पर्यटनको केन्द्रबिन्दु बन्न सक्ने बताए । महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप थापाले जनतालाई आयआर्जनमा लाग्न प्रोत्साहन गर्ने, कृषि पर्यटनलाई विकास गर्ने तथा समग्र शुक्लागण्डकीको विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा करीब रु दुई करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको प्रवक्ता दुर्गाकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।