समाचार

सेवाग्राहीसँग घुस लिएको अभियोगमा कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।

यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।