बाग्मती

मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो

काभे्रपलाञ्चोक । दशैँ तिहारमा छिमेकका घरमा झिलीमिली हुँदाका बखत बनेपास्थित मुकेश कायस्थको परिवारमा भने थप चिन्ताले सताउने गर्छ ।

परिवारका एक्ला छोरा मुकेश २०६२/६३ को जनआन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएका थिए । त्यसयता कायस्थ परिवारको चाड चिन्तामै बित्ने गरेको छ । तेह्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई देखेर आमा मीरा उनको भविष्यप्रति सधैँ चिन्तित भइरहन्छिन् । उनी भन्छिन्, “अरुका सन्तान खाइखेली हिँडेको देख्दा मन भक्कानिएर आउँछ, दशैँ नजिकिएका बेला मुकेश छतमा चङ्गा उडाउँदै होला भन्ने झस्कना पस्छ ।” अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने नपाउनेमा मीरा शशङ्ंकित छिन् ।

उनी भन्छिन्, “दशैँ तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ति पीडादायक हुन्न ।” देबे्र हात र टाउको मात्रै हल्लाउने छोराको चेत खुल्ने आश गर्दै हेरचाहमा दिनरात बितेको पनि कायस्थ परिवारलाई पत्तो हुनै छाडेको छ ।” कायस्थ दम्पती मुकेशलाई हसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन् । मात्र भन्छन् ‘हँ, हँ, हँ’ र हँ कै लामो शब्द । “हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेला बेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ, अनि हँ मात्रै गर्छ”, आँसु झार्दै आमा मीराले भनिन् ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन । बायाँ हात र खुट्टा राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । मुकेश खानेकुरा चपाएर खान सक्दैनन् । उनलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउनुपर्छ ।

आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा अध्ययनरत थिए । मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा छ कायस्थ परिवार छ । चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको कायस्थ परिवारको भनाइ छ ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । मुकेशका बाबु कृष्णमानले भने, “घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशलाई ‘जिउँदो शहीद’ घोषणा गर्न कायस्थ परिवारको माग छ ।

तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारले अहिले पनि उनका लागि जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १० हजार उपलब्ध गराउँदै आएको छ भने एक जना स्वास्थ्यकर्मीलाई हेरचाहका लागि राखेको छ । मुकेशका नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

जनआन्दोलनमा काभे्रका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामा जोरपाटीमा शहीदभएका थिए। सोही अवधिमा जिल्लामा ४० जना घाइते भएका थिए ।