अन्तर्राष्ट्रिय

साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

इस्लामाबाद । पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।

“रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन ।

मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताए ।पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी दिए ।

मन्त्री खानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना समेतका अन्य कार्यक्रममा साउदी अ‍ेरेबियाले लगानी बढाउन रुचि देखाएको पनि बताए । “अहिले हामीलाई तीन चारवटा खनिज तेल प्रशोधन प्लान्टको जरुरी छ र हामीले साउदी, चिनीया, युएई, रुसी वा अरु कुनै पनि देशको लगानीका लागि खुला गरेका छौं । पाकिस्तानले अझ राम्रो लगानी वातावरण तयार गर्दैछ ।”