स्वास्थ्य

कलेजो पीडितलाई तीन लाख सहयोग

दमक । कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गरेका हुन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गरे । दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा रु तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि घरमै राख्नुपरेको बिरामीका भाइ मुक्ति योङहाङले बताए ।

बिरामीका श्रीमान सिन्धुपलाञ्चोकका राजकुमार तामाङ रोजागारीका क्रममा आठ वर्षअघि मलेसिया गएपछि हालसम्म सम्र्पकबिहीन भएको बिरामीकी बहिनी देउकलाले बताए ।