पत्रपत्रिका

नेकपाले थाल्यो तल्लो तहमा एकीकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ। पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन्।

एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ। गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिनुभयो ।

पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए। महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ ।

पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने खबर गोरखापत्र दैनिकमा छ। त्यस्तै, प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ। प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए।