प्रदेश 2

सिलाइ मेसिन तथा ह्विल चेयर वितरण

जनकपुरधाम । विपन्न महिलालाई सिलाइ मेसिन र अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर आज यहाँ एक समारोहबीच वितरण गरिएको छ । कतार च्यारिटी नेपाल, स्वाति नेपाल र चेतना नामक संस्थाद्वारा उक्त सामग्री वितरण गरिएको हो । धनुषा जिल्लालाई लक्षित गरी विपन्न महिला १० जनालाई सिलाइ मेसिन र अपाङ्गता भएका १५ जनालाई ह्विल चेयर वितरण गरिएको छ ।

प्रदेशसभा सदस्य रामअशीष यादव, प्राध्यापक डा भोगेन्द्र झा, प्रदेश नं २ का पूर्वप्रहरी प्रमुख विजयलाल कायस्थ, कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्साद अलि शेखले संयुक्तरूपमा उक्त सामग्री वितरण गरे । सो अवसरमा प्रदेशसभा सदस्य यादवले सामाजिक रूपान्तरण सन्दर्भमा यस्ता कार्यले प्रेरणा र परनिर्भरतालाई हटाउनमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

प्राध्यापक डा झाले विपन्न र अपाङ्गता भएकालाई आत्मनिर्भर र आत्मबल वृद्धि अभियानमा सबैको सहयोग आवश्यक छ भने । पूर्वप्रहरी प्रमुख कायस्थले आफ्नो सेवा अविधिमा यस क्षेत्रमा देखिएको गरीबी, अपाङ्गता र अशिक्षालाई दृष्टिगत गरी सहयोगी संस्थालाई आग्रह गरेको आधारमा सहयोगको वातावरण बनेको प्रसङ्ग उल्लेख गरे ।

स्वाति नेपालका अध्यक्ष सङ्गीता निरौला, कतार च्यारिटी नेपालका प्रबन्धक शेख र चेतनाका अध्यक्ष भाष्करराज श्रेष्ठले यस्ता सहयोगलाई आगामी दिनमा निरन्तरता दिने बताए।