लुम्बिनी

माटोको भाँडा बनाएरै जीवन निर्वाह

दाङ । मोटोका भाँडा बनाउँदैमा गाजुराम थारूको ५० वर्ष बित्यो । उमेरले ६५ कटेपनि गाजुराम अझै यही पेशामा रमाइरहेका छन् । दाङको गढवा गाउँपालिका पत्रेङ्गा गाउँ निवासी गाजुराम मात्र होइन उनका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् । विदेश गएर भन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए। यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उनले थपे । उनले भने, “जग्गा जमीन केही छैन, मेरो पनि छैन, बाबु बाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्यौँ ।”

गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, कोशी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महीनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरीरहेको गाजुरामले सुनाए ।

छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उनको भनाइ छ । कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहेका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउँने गर्छन् । सो गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उनलाई खासै पत्यार भने लाग्दैन । “विसं २०५५/५६ सालसम्म धेरै बिक्थ्यो, त्यसपछि पनि एक दुई साल केही कम भयो तर अहिले पनि हाम्ले त बेचिरहेका छौँ”, उनले भने ।

विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थपे “पढायो पढायो, काम गर भन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन्”, उनले भने । गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । “म पनि औँठाछाप हुँ, छोराहरु पनि औँठाछाप हुन् शायद पढेको भए, मैले नि माटोका भाडा बनाउने थिएन कि ?