राजनीति

जनताको भावनाअनुसार काम हुनुपर्छ : अध्यक्ष यादव

राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले सकेको छैन भने ।
मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै उनले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने विचार राखे ।

अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गरे । निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने धारणा राखे ।