प्रदेश 1

दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

उनका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टङ्क रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनै जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।