विचित्र संसार

कुकुरको भव्य विवाह, बेहुली कुकरले लगाइन् २ लाखको पहिरन !

काठमाडौं । अस्ट्रेलियाका मेलवर्नमा हालै भएको कुकुर विवाह निकै चर्चाको विषय बनिरहेको छ । भाले र पोथी कुकुरबीच भएको विवाह कुनै करोडपति मानिसको विवाह भन्दा कम भव्य थिएन ।

नहोस् पनि किन ? विवाह समारोहमा बेहुली बनेकी जस्मिन नामकी पोथी कुकुरले २ हजार डलर अर्थात् २ लाख रुपैयाँ पर्ने पहिरन लगाएको थियो । बेहुलो भाले कुकुरको नाम ज्यास्पर थियो र उसले पनि महंगो शुट पहिरिएको थियो । यो भव्य तथा महंगो र अनौठो विवाहमा सहरका साढे ३ सय भन्दा बढि मानिस सहभागी भएका थिए ।

बेहुली कुकुरले लगाएको ड्रेस चानचुने थिएन । अस्ट्रेलियाका चर्चित डिजाइनर क्रेग ब्रुबुकले उक्त पहिरन डिजाइन गरेका हुन् । सेतो रंगको तथा कृत्रिम हिरा जडित उक्त पहिरनमा जस्मिनको रुप निकै खुलेको थियो ।

कुकुर र कुकुर्नीको यस्तो महंगो विवाह कसले गराइदियो होला ? वास्तवमा कुकुरको उद्धार तथा स्याहारमा संलग्न संस्था पग रेस्क्यु एण्ड एडप्सन भिक्टोरिया नामक संस्थाले यो भव्य विवाहको आयोजना गरेको हो । उक्त संस्थाका अनुसार यी जस्मिन र ज्यास्परबीच पछिल्लो ७ वर्षदेखि प्रेम चलिरहेको छ ।

मेलबर्न सहरको पश्चिमी तट बेथर्स प्याभेलियनमा अघिल्लो आइतबार भएको विवाहमा उपस्थित पाहुनाहरुले आ आफ्ना घरका पाल्तु कुकुर लिएर सहभागी भएका थिए । –एजेन्सीको सहयोगमा