गण्डकी प्रदेश

पर्यटन गुरुयोजना तयार

पर्वत । जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो ।

पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम शुरु गरिएको पूर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारीले जानकारी दिए। “पर्यटनको मुख्य आकर्षण पदमार्ग नै हो”, उनले भने, “धुले सडकको विकल्पमा धेरैले पदमार्ग रुचाउँछन् ।” जलजलाभित्र धेरै पर्यटकीय तथा धार्मिक महत्वका स्थान छन् । तिनको व्यवस्थित प्रचारप्रसार तथा भौतिक संरचनाको सम्भाव्यता अध्ययन थालिएको उनले बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पदमार्ग निर्माण गर्न थालिएको बताउँछन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको पहलमा भू–गर्भविद्सहितको प्राविधिक टोलीले गाउँपालिकाका मुख्य पर्यटकीय गन्तव्यको स्थलगत अध्ययनसमेत गरेको छ । जलजला गाउँपालिका–२ वारिबेनीदेखि मल्लाज, सर्षकुमाई, गिद्धेश्वर, पूर्णगाउँ, तारे, दीपको बराहताल, सिर्कु, कालाञ्जर पर्वत हुँदै हम्पाल लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । सबै क्षेत्रको प्याकेज बनाई यहाँ घुम्न आउने पर्यटकलाई बिक्री गर्न सकिने अध्ययन टोलीले सुझाएको जलजाल–४ का वडाध्यक्ष भीष्म मल्ल बताउँछन् । बेनीदेखि ती सबै ठाउँको अवलोकन गराई हम्पालको लेकसम्मको यात्रा गराउन सकिन्छ ।

वारिबेनीबाट शुरु भएको यात्रा मल्लाज दरबार, भगवती कोट, जलजला–४ को गुफा, सर्सकुमाईस्थित ऋषिले तपस्या गरेको स्थान, शालिजाको दीपस्थित बराहतालको अवलोकन गराउँदै हम्पाल पुग्न सकिन्छ । हम्पालबाट फर्केपछि जलजला–५ स्थित फलामेडाँडामा भ्युटावर अवलोकन गराउने गाउँपालिकाको योजना छ । “फलामे डाँडामा भ्युटावरको उपयुक्त सम्भावना छ”, मल्लले भने, “समग्र अध्ययनका लागि आएको प्राविधिक टोलीले पनि उपयुक्त भनेको छ । त्यो प्रक्रियामा हामी जुटिसकेका छौँ ।” त्यहाँ बन्ने भ्युटावरबाट म्याग्दी, बाग्लुङ र मुस्ताङका अधिकांश स्थानको अवलोकन गर्न सकिन्छ । हम्पाल गएर फर्केका पर्यटकलाई भ्युटावरबाट लहरै मिलेका हिमशृङ्खलाको अवलोकन गराउन सकिन्छ ।

फलामेडाँडा पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा चिनिएको छ । बेनी, बागलुङ र कुश्माका व्यवसायी, कर्मचारी र विद्यार्थीसमेत शीतल खोज्दै त्यहाँ पुग्ने गरेका छन् । गर्मी छल्नका लागि बेँसीबाट पर्यटक आउने गर्छन् । डाँडाकटेरीका होमस्टेको अवलोकन र बासपछि पर्यटक बेनी फर्कने वा त्यहाँबाट घोडेपानी जान सक्छन् । गाउँपालिकाले हम्पालको लेकमा २२ रोपनी क्षेत्रफलमा ताल बनाउने योजनासमेत बनाएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमीन छ । हम्पालको लेकबाट दलदले जमीन हुँदै बगेको पानीले पूरै जमीन लचकदार भएकाले पनि यो स्थानको नाम जलजला रहन गएको स्थानीयको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा हम्पालमा ताल निर्माण प्रक्रियासमेत थालिएको छ । यहाँ ताल निर्माण भएमा अन्नपूर्ण पदमार्गमा आउने अधिकांश पर्यटक जलजलाको कालाञ्जर पर्वत पुग्न सहज हुने अध्यक्ष मल्लले बताए । “गुरुयोजनाको विस्तृत अध्ययन भइरहेको छ”, उनले भने, “सबै पूर्वाधार एकैपटक बनाउन सम्भव छैन । प्याकेजमा निर्माण गर्ने हो ।” अहिले दैनिक एक हजार बढी पर्यटक जलजलाकै बाटो भएर मुक्तिनाथ जाने गरेका छन् ।