प्रदेश 2

लुटिएको नगद र मोटरसाइकल बरामद

लहान । सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ ।

सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार/पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइकल तथा रु नौ लाख ५० नगद लुटेका थिए ।

सो घटना भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा लुटिएको मोटरसाइकल र सिटमुनि रिन्ज राख्ने ठाउँबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

बढ्दो लागुऔषध प्रयोग तथा युवामा बढ्दै गएको विकृृतिविरुद्ध मिर्चैया प्रहरीले विद्यार्थीलाई कक्षामै पुगेर पढाउन थालेको छ । प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो एरियाभित्रका विद्यालयमा पुगेर पढाउन थालेको हो ।

यसैक्रममा आज मिर्चैया नगरपालिका–६ स्थित मिथिला विद्या मन्दिरका छात्रछात्रालाई ‘सभ्य र सुरक्षित समाज निर्माणका लागि नैतिक चरित्र र अनुशासनको विकास’ भन्ने शीर्षकमा जनचेतनामूलक प्रशिक्षण दिएको छ ।

विद्यार्थीमा देखिएको नैतिकताको कमी र अनुशासनहीनताको अवस्थालाई सुधार गर्नका लागि प्रशिक्षण शुरु गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र साहले जानकारी दिए ।
प्रशिक्षणले समाजमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, चोरी डकैतीमालगायतका विकृतिमा कमी आउने उनले विश्वास व्यक्त गरे ।