समाचार

प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क्रममा आज कतारको दोहा आइपुगे। उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् ।

उनलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका कार्यवाहक राजदूत मणिप्रसाद भट्टराईले स्वागत गरे । प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका थिए । उनले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।