स्वास्थ्य

चिकित्सक अभावमा सेवा प्रभावित

लमही । दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विमलेस गुप्ताले बताए ।

अहिले डा. गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन चिकित्सकको दरबन्दी भए पनि अन्य दुई दरबन्दी खाली रहेको डा. गुप्ताले बताए । “राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप निकै हुन्छ”, उनले भने, “तर चिकित्सकको सङ्ख्या पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।”

अस्पतालमा दैनिक ६० देखि एक सयसम्म बिरामी आउने गरेको डा गुप्ताले जानकारी दिए । पोष्टमार्टमका घटना दिनहुँ आउने गरेको र दैनिक सरदर ८/१० जना दुर्घटनाका घाइते आइरहेको उनले बताए । १५ शय्याको अस्पतालमा हाल तीन चिकित्सकको दरबन्दी छ । यसअघि दुई डाक्टर कार्यरत रहेकोमा ईश्वरी खनाल अध्ययन बिदामा बसेपछि अहिले गुप्ता एक्लैले अस्पताल धान्नुपरेको हो ।

बिरामीलाई प्रभावकारी सेवा दिन अझै सात डाक्टर चाहिने देखिन्छ । सो अस्पतालमा हाल अहेब पाँच, नर्स एक, अनमी पाँच र कार्यालय सहयोगी दुई कार्यरत छन् । अझै १०/१२ कर्मचारी आवश्यक परेको डा. गुप्ताले बताए ।
करारमा रहेका कर्मचारीको म्याद असार मसान्तदेखि थप नभएपछि सेवा सञ्चालनमा थप समस्या भएको डा गुप्ताको भनाइ छ । इमर्जेन्सीका दुई, प्यारामेडिकलका दुई, एम्बुलेन्स चालक एक, शववाहन चालक एक र कार्यालय सहयोगी तीन जनाको म्याद थप नभएपछि साउन १ देखि काममा समस्या भएको उनले बताए। कर्मचारी नभएका कारण एक्सरे, एम्बुलेन्स र शववाहन ठप्प भएको डा. गुप्ताले बताए ।