समाचार

‘मालपोत र नापीका सबै भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुन्छ’ : अख्तियार प्रमुख घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको र सबै क्रमचारी भ्रष्टाचारमा संलंग्न रहेको स्वीकार गरेका छन् ।

भ्रष्टाचारमा सलग्न भएका सबै कर्मचारीहरुलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको पनि उनले बताए । बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको बताए । भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिकसमाज सबैका लागि चुनौतीको विषय भएको बताए ।

‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन् ।’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस् भन्ने कुरा आयो ।’
नापी र मालपोत कार्यालयका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेर घुस खाने गरेको बताए ।

यस्तै अख्तियार प्रमुख घिमिरेले जुन सुकै विकास निर्माण तथा आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा सरकारलाई ख्याल गर्न आग्रह समेत गरेका छन् ।  ‘जाजरकोट दुलही सडक निमार्णका क्रममा निमार्ण व्यावसायीहरुले ठूला ढुङ्गाहरु, चट्टानहरु फुटाउन सकेनन । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो’ घिमिरेले भने, ‘तर अन्य तराईका क्षेत्रहरुमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन, सरकारले सोच्नुपर्छ ।’

नेपाली सेना अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन । आफूले विगतमा रक्षा सचिव र गृहसचिव भएर समेत काम गरेको अनुभव सुनाउँदै प्रमुख आयुक्त घिमिरेले आफूहरु संवैधानिक दायरामा रहेको बताए ।