बाग्मती

नौबिसे–नागढुंगा सडक मर्मतले यात्रु रातभरि सडकमै, यात्रुको आक्रोश– कहिलेसम्म यस्तो कष्ट सहने ?

काठमाडौँ । राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रायः जाम भइरहन्छ । तर, अहिले अरू बेला जस्तो छैन । रातभरि गाडी बाटामै लाम बसेका देख्न सकिन्छ । मर्मतका लागि सडक एकतर्फी गरिएपछि रोकिएका गाडीको लस्कर मंगलबार, बुधवार ३० किलोमिटर लामो भएको थियो ।

नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए ।

छिटो अस्पताल पुग्न छिमेकी प्रदीप भण्डारीको गाडीमा अघिल्लो दिन बिहान ६ बजे हिँडेका उनी भोलिपल्ट बिहान गाडीभित्रै छटपटाइरहेका थिए ।
भण्डारी यसकै मारमा परेका हुन् । ‘बल्लबल्ल दाउन्नेको जाम छिचोलेर आइयो तर काठमान्डु पुग्न सकिएन,’ भीमलालका छोरा श्यामले भने, ‘रातभर गाडीमै बस्नुर्पयो, खाना खाने ठाउँसमेत पाइएन । बिरामी बुबालाई १० घण्टासम्म सडकमा बस्नुपर्दा साह्रै गाह्रो भयो ।’

यस्तै भैरहवाबाट १२ जना यात्रु लिएर हिँडेका माइक्रो बसचालक अर्जुन तिवारी पनि यही जाममा फसे । ‘हिजो साँझ ८ बजे झ्याप्ले खोला आइपुगेको थिएँ,’ बुधबार बिहानसम्म जाम खुल्ने प्रतीक्षामा रहेका उनले भने, ‘रातभरि न मैले खान पाएँ न यात्रुले । दसैंको मुखमा पिच गरेर हामीलाई किन यस्तो बिजोगमा पारेको होला ?’

मंगलबार साँझ नौबिसेबाट उकालो लागेका गाडी राति १२ बजे बल्ल नागढुंगा आइपुगेका थिए । ८ बजेभन्दा पछि आइपुग्ने गाडी बिहानसम्म पनि बाटैमा थिए । नौबिसे–नागढुंगा खण्डमा खासै होटल छैनन । न त प्रशस्त खानेकुराका पसल । जामको हेक्का नभएकाले प्रायस् यात्रुले खानेकुरा बोकेका थिएनन् ।

स्याङ्जाका निश्चल अर्याल यसैगरी सडकमा अलपत्र परे । मंगलबार राति ११ बजे वैदेशिक रोजगारीका लागि दुबई उड्न आएका उनी साँझ ७ बजे नागढुंगा आइपुगे । ‘उकालामा आएर बस रोकियो । कतै ट्याक्सी पाइन्छ कि भनेर पैदलै यहाँसम्म आएँ तर पाइएको छैन,’ उनले कान्तिपुरसँग भने । बिहान ७ बजे घरबाट हिँडेका उनी दिउँसो ३ बजे नौबिसे आइपुगेका थिए । लगेजसहित सडकमा उभिइरहेका उनले भने, ‘यो जाम छिचोल्न नसके विमान छुट्छ ।’

पोखराबाट एम्बुलेन्समा बिरामी बोकेर आएका चालक प्रेमबहादुर गुरुङ पनि सडकमै रोकिए । मंगलबार बिहान ६ बजे पोखराबाट हिँडेका उनी दिउँसो साढे २ बजे मात्र नागढुंगा आइपुगे ।

‘नौबिसेबाट जाममा परियो, एम्बुलेन्समा मुटुका बिरामी थिए,’ बुधबार पोखरा फर्किने क्रममा नागढुंगाको जाममा भेटिएका उनले भने, ‘गंगालाल हृदयरोग केन्द्र र्पुयाउन साह्रै सकस भयो ।’ नागढुंगाबाट सुरु हुने ओरालामा मर्मत भइरहेकाले सडकको दुवैतर्फ जाम छ । ‘साँझ बल्ल अस्पताल र्पुयाइयो, बिरामीका आफन्त निकै आत्तिए,’ उनले भने ।