समाचार

गुण्डाका नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले  बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो ।

बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकीकरणको रिट निवेदन दायर गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरी गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा राखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।