बाग्मती

एक चेक नागरिक बेपत्ता

गोरखा । मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् । यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने पहिलो आधार शिविरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख विमल बस्नेतले जानकारी दिए ।
उनीहरु माउन्टट्रेक्सन नेपाल कम्पनीबाट हिमाल आरोहणका लागि गएका थिए । आधार शिविरमा नआएपछि उनका साथीहरुले चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ प्रहरी चौकीमा साथी हराएका बारे खबर गरेका थिए ।

बेपत्ताको सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलीले आधार शिविर आसपासमा खोजी गरिरहेकोे बताइएको छ । आधार शिविरबाट प्रहरीचौकी सामागाउँ आइपुग्न करीब चार दिनको पैदल दूरी पर्ने भएकाले ढिलो गरी जानकारी आएको प्रहरीले जनाएको छ ।