पर्यटन/संस्कृति

थामी जातीका भाषा तथा लिपिमा अध्ययन शुरु

काठमाडौँ । नेपालको संविधानमा व्यवस्था गरिएअनुसार भाषा आयोगले दोलखाको कालिञ्चोकमा थामी जातीका भाषा तथा लिपिका सम्बन्धमा अध्ययन शुरु गरेको छ ।

असोज १५ देखि शुरु भएको सो अध्ययनमा आयोगले नेपालका विभिन्न जाती तथा समुदायको भाषा नीति निर्माण गर्नका लागि स्थानीयवासी, विद्यालयका शिक्षक विद्यार्थी तथा सम्बद्ध समुदायसँग परामर्श गरेको छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष मनबहादुर थामीको भएको सो कार्यक्रममा भाषा आयोगका अध्यक्ष लबदेव अवस्थीले संविधानमा व्यवस्था गरेअनुसारको विभिन्न जाती तथा भाषासम्बन्धी नीति तयार पार्न दोलखाको कालिञ्चोकमा स्थानीयवासीसँग परामर्श गरेको बताए ।

उनले भाषा आयोगबाट सुझाव सङ्कलन गरी राज्यलाई नीति तयार पार्न सहयोग मिल्ने धारणा व्यक्त गरे । संस्कृतिविद् डा बज्राचार्यले नेपालमा धेरै भाषा भए पनि राज्यको संरक्षणको अभावमा कतिपय भाषा लोप हुने स्थितिमा रहेको उल्लेख गरे । राज्यको सम्पत्तिका रुपमा रहेको थामी भाषा बोल्ने स्थानीयवासीको पहिचानलाई जोगाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।

भाषा आयोगका सचिव अम्बिकाप्रसाद रेग्मीले आयोगले भाषासम्बन्धी समस्या, पहिचानजस्ता पक्षलाई स्थानीयबाट सुझाव सङ्कलन गरिरहेको बताए । सो आयोगका उपसचिव लोकबहादुर लोप्चन, गाउँपालिकाका अध्यक्ष मनबहादुरलगायतका वक्ताले थामी भाषाको वर्तमान अवस्थाबारे मन्तव्य दिए ।

आयोगले दुई दिन लगाएर स्थानीय ५३ वटा विद्यालयमा पुगेर भाषाको सङ्ख्या, भाषाको व्यवहारमा कार्यान्वय तथा बहुभाषा शिक्षा नीतिबारे जानकारी गराएका थिए । नेपालको संविधान २८७ मा भाषा आयोग रहने व्यवस्था छ । आयोगले थामी जातिको भाषाका साथै नेवा, तामाङ, शेर्पा, आदि भाषाको पनि अध्ययन गरेको थियो ।