स्वास्थ्य

दिनहुँ बाकसमा आउने लासले सबै नेपालीलाई पीडा दिएको छः उपप्रधानमन्त्री यादव

जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले विदेशबाट दिनहुँ आउने शवले सबै नेपालीलाई पीडा दिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखेका हुन् । उनले गरीबी तथा बेरोजगारीका नाममा अहिले पनि अन्तर्राष्ट्रिय जगतमा सहयोगको याचना गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको बताए ।

समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासङ्घ नेपाल प्रदेश नं २ को प्रथम भेलाका अवसरमा आज यहाँ आयोजित समारोहमा उपप्रधानमन्त्री यादवले मगन्ते मानसिकताले परनिर्भरताको अन्त्य कहिल्यै हुन सक्दैन भने ।

उहाँले गरीबी, बेरोजगारी र अभावग्रस्त जनतालाई समानता, सम्पन्नता र अधिकार प्राप्त गराउनु अहिले पनि चुनौतीपूर्ण छ भन्दै सामाजिक न्याय र समृद्धिका लागि आर्थिक, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग, कलकारखाना स्थापना, कृषिको आधुनिकीकरण गर्न अपरिहार्य भएको बताए ।

उनले सङ्घीयता र आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी, विदेशी षडयन्त्र भइरहेकाले सबैलाई सजग रहन आग्रह गर्दै संविधान संशोधनविना मधेशी जनतासँग भइरहेको विभेदको अन्त्य हुन नसक्ने धारणा राखे ।