पु.समाचार

हिंसाविरुद्ध अभियान गृहमन्त्री एक्लैको प्रयासले सम्भव हुदैन्

चितवन । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताए ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उनले सरकार एक्लैको प्रयासले यो सम्भव नहुने भन्दै सबै मिलेर यसलाई आन्दोलनको रुपमा अघि बढाउनु पर्ने बताए ।

विभिन्न क्षेत्रमा भएका कमीकमजोरीका बारेमा छलफल गरी आ–आफ्नो क्षेत्रमा भएका कमीकमजोरीलाई सच्याउँदै यो आन्दोलनलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो । भ्रष्टाचारी, तस्कर, बलात्कारी जनताका शत्रु भएको बताउँदै उनले यिनीहरुले देशको समृद्धिमा बाधा खडा गरेको बताए । उनले यस्ता तत्वलाई निस्तेज बनाएर देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

मदिरा नियन्त्रणका लागि देशभरका प्रत्येक वडामा अनुगमन संयन्त्र गठन गर्नुपर्ने बताउँदै उनले घरेलु मदिरा उत्पादनलाई व्यवस्थित गर्न सकिने बताए। घरेलु मदिरा सङ्कलन केन्द्र स्थापना गरी गुणस्तर परीक्षण गरी बिक्री गर्ने व्यवस्था गर्न सकिने गृहमन्त्री थापाको भनाइ थियो । लागुऔषधको स्रोत नै समाप्त पार्नुपर्ने बताउँदै उनले त्यसका लागि गृहमन्त्रालय सुक्ष्मरुपमा लागिरहेको बताए ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भएका ऐन कानुनको कार्यान्वयन हुन नसक्दा महिला हिंसाका घटना बढ्दै गएको बताए । राजनीतिक परिवर्तन भए पनि चेतना, मानसिकतामा परिवर्तन हुन नसकेको बताउँदै उनले जनताको चेतनाको स्तर विकास गर्नुपर्ने बताए । भौतिक पूर्वाधारले मात्रै देश विकसित हुन नसक्ने बताउँदै उनले जनतासुखी नभएसम्म देश समृद्ध हुन नसक्ने बताए ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले कार्यप्रणालीमा गम्भीर त्रुटि रहेकाले महिला हिंसाका घटना बढ्दै गएको बताए । कार्यशैली र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउँदै उनले सरकार बलियो गरी प्रस्तुत हुनुपर्नेमा जोड दिए । प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समाजमा सकारात्मक सोचको विकास गर्नुपर्ने बताउँदै गोष्ठीमा प्राप्त सुझाव प्रदेश सरकारका लागि मार्गदर्शक भएको बताए ।

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पाठ्यपुस्तकमा नैतिक शिक्षा समावेश गर्नुपर्ने बताउँदै सामाजिक क्षेत्रमा राज्यले अध्ययन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गृहमन्त्रालयका सहसचिब नारायणप्रसाद शर्मा दुवाडीले मुख्य कार्यक्रमको उद्देश्य, रुपरेखा र विषयमा प्रस्तुति गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको समग्र शान्ति सुरक्षा, महिला हिंशा र अन्य अपराधमा लागुऔषध र मदिराको प्रभावको अवस्थाबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमामा हुने अपराध, सीमा सुरक्षा लगाएतका विषयमा बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले सुरक्षा र सूचनाका विषयमा जानकारी गराएका थिए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ईश्वरी भट्टराई र नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अपराध मुक्त समाज निर्माणका लागि पार्टीका तर्फबाट सहयोग गर्ने बताए ।
समुदायमा सरोकार राख्ने विभिन्न समुदाय र पेशा कर्मीहरुको कार्यक्रममा सहभागिता थियो । प्रतिनिधिमुलक ढङ्गबाट सहभागीले आ–आफ्नो सुझाव राखेका थिए ।