लुम्बिनी

जनताको विश्वास जितेर काम गर्नुपर्ने : मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताए । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताए । उनले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताए।

मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम हो भने । “नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ , तीन ठूला राजनीतिक क्रान्ति हुँदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि छ ।” पोखरेलले भने,“अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन ।”

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ उनले भने ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा सङ्घ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विकले सङ्घीयता कार्यान्वयनको क्रममा संस्थागत रुपान्तरणको अवस्थामा शान्ति सुरक्षा दुरुस्त राख्न समन्वयात्मक वातावरण बनाउने, सुरक्षा योजना तयार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र प्रदेश र स्थानीय निकायबीच समन्वय र सहजीकरणको माहोल सिर्जना गर्ने बैठकको उद्देश्य रहेको जानकारी दिए ।