प्रदेश 1

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने।

मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे । परिषद्को संयोजकसमेत रहेका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या हल गर्न बैठकले मद्दत गर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचनाअनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताए।
प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा प्रदेश समन्वय परिषदको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा मुख्यसचिव केदार न्यौपाने र प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदाका विषयमा सचिव शेरजङ्ग कार्कीले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।