कर्णाली प्रदेश

बसबाट खसेका बस्नेतको मृत्यु

सुर्खेत । चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुन् ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।

शव परीक्षणका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ । बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।