समाचार

यौन दुराचारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

बाँके । यौन दुराचारको आरोपमा नेपालगन्जका एक ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई यौन दुराचार गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि नेपालगन्ज उपमहानगरपालिका–१८ का वृद्धलाई प्रहरीले पक्राउ गरेको हो।

वृद्धले बालिकालाई आइतवार दिउँसो यौन दुराचार गरेको भए पनि सोमवार विहान साढे ९ बजेको समयमा पीडित बालिकाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाँट प्रमुख प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।

बालिका र उनका आफन्तले दिएको किटानी जाहेरीका आधारमा सोमवार विहान पक्राउ परेका वृद्धका बारेमा अनुसन्धान भइरहेको बताउँदै उनले अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको विष्टले बताए।

उनले अनुसन्धानपछि मात्र घटनाको बारेमा भन्न सकिने बताए। ‘मुद्धा दर्ता गरेर अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थप गराएको उनले बताए । प्रहरीले पीडक र पीडितको नाम गोप्य राखेको पनि उनले जानकारी दिए ।